Breaking News
Loading...
Thursday, August 15, 2013

बिदेशमा १ नेपालीको पिडा,यो १ नेपालीको पीडा नभई हजारौ हजार नेपालीको पीडा हो

कतार ३१ – २१ मे २०१२ । चैनपुर—७, संखुवासभाका लालबहादुर स्याङ्तान र उनका पन्जाबी मित्र ‘अन्डर ग्राउन्ड’को ट्यांकीमा छिरे । उनको खास काम ट्यांक्कीबाट चुहिने पानीलाई रोक्नु हो । टेक्निकल भाषामा ‘वाटर पु्रफिङ इन्जेक्सन’ को काम ।
जता पानी चुहिन्छ, त्यता डि्रल लगाउने र इन्जेक्सन हान्ने । इन्जेक्सन हान्दा प्वाल परेको वरिपरिको भित्तालाई चर्काउँछ र एकैछिनमा जाम भएर पूरै प्वालहरू टालिन्छ । लालबहादुरले यस्तो इन्जेक्सन दिनमै २०/२५ वटासम्म हान्ने गर्छन् । काममा पोख्त र सिपालु उनका लागि इन्जेक्सन हान्नु चुट्की मार्नुजस्तो भइसकेको थियो ।

त्यस दिन पनि त्यही काम गर्नु थियो । ट्यांकीको पिँधमा केही फोहोर थियो । पानी छिपछिप । अलि गन्ध आइरहेको थियो । अलिबेर अडिएर पनि काम गर्न गार्‍हो थियो । उनीहरू हतारहतार काम सकेर बाहिरिने योजनामा थिएँ । सामान तयारी अवस्थामा राखें । ड्रिल गर्ने स्थान पत्ता लगाए । डि्रल गर्न करेन्टसँग जोडे । स्टार्ट गरे ।
दिन सधैं एकनासको हुँदैन रहेछ । स्टार्ट सुरु मात्रै के गरेका थिए, आगोको झिल्को निस्क्यो । सेकेन्डमै पूरै ट्यांकीभरि आगोको मुस्लोले ढाक्यो । ‘आँखा खोल्न सकिने स्थिति भएन । जीउ पूरै हावामा उडेजस्तो भयो, करेन्ट लागेको जस्तो ।
यस्तो पोल्यो कि त्यसको सीमा थिएन,’ उनले भने, ‘एकछिनमा बाहिरबाट रुइरहेको आवाज सुनियो । पन्जाबी मित्र बाहिर निस्किसकेछ ।’ लालबहादुर पनि अन्दाज लगाएर ट्या)की बाहिर आगोको शरीर बोकेर निस्किए । शरीरमा लगाएको डांग्रो कपडा केही थिएन । पेन्टी र सेफ्टी जुत्ता मात्रै जाल्न बाँकी थियो । झन्डै पाँच मिनेटसम्म आगोमै जलेको अनुमान छ । पोलेको सहन नसकेर साथीभाइलाई गुहारेको सम्म उनलाई याद छ । केहीबेरमै एम्बुलेन्समा हालेपछि उनी बेहोस भए ।

४८ दिनपछि उनी होसमा आए । शरीरभरि डे्रसिङ । स्थान कतै खाली छैन । बिस्तारै बिस्तारै थाहा हुँदै गयो, जलेर दुवै हातका औंला काम नलाग्ने भएछन् । औंलाका नसाहरू छैनन् । कान्छी औंला छैन । पिँडुला, तिघ्रा त्यस्तै । पाखुराको छाला झिकेर हातमा टाँसिएछ ।एउटा देब्रे कान पनि पूरै जलेछ । दाहिने कान जलेर अर्को आकार लिएछ । पिँडुला र तिघ्राका छालाहरू ‘चाउचाउ’ जस्तो आकार भएछ । नाक र ओठ बिगि्रयो । पेन्टी नजलेकाले संवेदनशील अंग जोगियो । खुट्टामा सेफ्टी जुत्ता भएकोले खुट्टाका औंलाहरू सुरक्षित भए । उनी झन्डै चार महिनासम्म अस्पतालमै बसे । अस्पतालबाट क्याम्पमै लगेर राखियो ।

कम्पनीले विशेष हेरचाहका लागि सहयोगी उपलब्ध गराएन । उनका साथीभाइले लुगा धुइदिनेदेखि खाना खुवाइदिनेसम्मका सहयोग गरिदिए । भन्छन्, ‘दुर्घटनापछिको दःख, कष्टको वर्णन गरेर सक्तिन । त्यो पीडालाई न भुल्न सक्छु, न भन्न सक्छु ।’

४० वर्षीय लालबहादुर २०१० जुलाई २ तारिख कतारमा मेसनका कामको लागि आएका थिए । तर उनलाई केही समयमै ‘वाटर पु्रफिङ इन्जेक्सन’ को जिम्मा दिइएको थिए । उनी घर फिर्ने तयारीमा रहेको दुई साताअघि मात्रै यसरी दुर्घटनामा परे । ‘२ जुलाईमा भिसाको म्याद सकिने हुँदा घर फिर्नका लागि कम्पनीमा घर फिर्ती निवेदन पनि दिइसकेका थिए,’ उनले भने, ‘मे २१ ले छुट्टै स्थिति बनेर आइदियो ।’

भयंकर ठूलो दुर्घटना परेका उनलाई दरिलो भाग्यले बचायो । सधैंभर सम्झाइराख्ने यो घटनामा उनका गरिखाने १० नंग्रा गुम्यो । ‘हामी शारीरिक मिहिनेतमा रमाउनेका लागि हातको औंलाहरू गुम्नुको पीडालाई कसरी भुल्न सकिएला त ?’ हालैका शुक्रबार सनैया १५ नम्बरमा भेटिएका लालबहादुर भन्दै थिए, ‘२१ मे आउनेबित्तिकै मेरो आङ नै जिरिङ्ग हुन्छ ।’ हुन त उनलाई देख्ने/भेट्ने जो कोही पनि डराइहाल्छन् । अझ बिस्तारै शरीरको लुगा हटाउने हो भने मन थाम्न गार्‍हो पर्छ ।घर आउने खबर पाएको परिवारले त्यस्तो दुर्घटनामा परेको खबर सुन्नुपर्दा झन् स्थिति के भयो होला ? यही अत्यासलाई सन्त्वना दिन उनी छिटो घर फिर्न चाहिरहेका छन् । घरमा १९, १६ र ७ वर्षका छोराछोरी छन् । यता भएको बेला ठूली छोरीको विवाह भयो । त्यसमा सहभागी हुन नपाएकोमा ठूलो चिन्ता पनि छ । अब उनका लागि गरिखान शरीरले दिँदैन ।

अहिलेसम्म क्षतिपूर्तिको लागि जस्तोसुकै परिस्थितिसँग जुधेर बसेका हुन् । कतार सरकारको अंगभंग गुमेपछि क्षतिपूर्ति तोक्ने निकाय ‘सुपि्रप हेल्थ काउन्सिल’ले एक सय ४१ प्रतिशत (करिब दुई लाख ८२ हजार रियाल) क्षतिपूर्ति दिनुपर्ने निर्णय गर्दिसकेको छ । तर, कम्पनी भन्छ, ‘तिम्रो बिमा एक सय प्रतिशत मात्रै गरिदिएको हो ।
मरे पनि बाँचे पनि एक सय प्रतिशतभन्दा बढी दिन सक्तिन ।’ त्यो भन्दै लालबहादुरलाई दिएको केही एडभान्स कटाएर यही आइतबार (४ अगस्ट) मा एक लाख ९२ हजार रियाल दियो । ८२ हजार रियाल दिएन । उनले बिरामीपछिका महिनाहरू तलब पाएनन् । उनी ८२ हजार रियाललाई माया मार्दै स्वदेश फिर्दै छन् । यो विषयमा लालबहादुर अलमलमा परेका छन् ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat