Breaking News
Loading...
Sunday, September 22, 2013

प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर प्रचण्ड विरुद्ध उम्मेदवारी !

काठमाडौं, ७ असोज । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गत वर्ष भृकुटीमण्डपको सार्वजनिक सभामै थप्पड हानेर चर्चामा आएका बागलुङ घर भएका पदम कुँवर संविधानसभाको निर्वाचनमा प्रचण्ड विरुद्ध उम्मेदवारी दिने तयारीमा रहेका छन् ।
बागलुङ राजकुत–२ का पदम कुँवरले प्रचण्डले १० वर्से जनयुद्धका सहिद, बेपत्ता र घाइतेहरूको अपमान गरेर आफ्नो मात्र स्वार्थ पूर्ति गर्न लागेकाले उनीविरुद्ध नै सांकेतिक रूपमा विरोध जनाउन उम्मेदवारी दिन लागेको बताएका हुन् । पार्टीले उम्मेदवारको अन्तिम नामावली टुंगो नलगाउँदै काठमाडौंभित्रै धमाधम बागी उम्मेदवारको चर्चा हुन थालेपछि एमाओवादी भने अप्ठ्यारोमा परेको छ ।
एमाओवादीका काठमाडौंका अधिकांश नेता–कार्यकर्ता पार्टी शीर्ष नेतृत्वविरुद्ध उभिएका छन् । आगामी संविधानसभा निर्वाचनमा नयाँ अनुहारका नाममा स्थानीय नेतालाई बाइपास गर्ने गम्भीर षड्यन्त्रमा नेतृत्व लागेको भन्दै उनीहरू विपक्षमा उभिएका हुन् ।
एमाओवादी नेतृत्वलाई बढ्दो आकांक्षीका कारण प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको टुंगो लगाउन हम्मे परिरहेको बेला काठमाडौंका स्थानीय नेताहरूले गत निर्वाचनका भन्दा नयाँ अनुहार ल्याइए वा आफूहरूलाई उम्मेदवारीबाट वञ्चित गरे नेतृत्वकै विरुद्धमा खडा हुने चेतावनी दिएका छन् ।
पार्टीले युद्धकालीन कार्यकर्तालाई बेवास्ता गर्दै उम्मेदवार चयनमा केन्द्रीय तहबाट हस्तक्षेपको नीति लिएको भन्दै स्थानीय नेताले नसच्चिए विद्रोह हुने जनाए । काठमाडौंको १० निर्वाचन क्षेत्रमध्ये पाँचओटा निर्वाचन क्षेत्रमा एमाओवादीका युद्धकालीन पुराना कार्यकर्ताले विद्रोह गर्ने जनाएका हुन् । अघिल्लो निर्वाचनमा विजयी भएका क्षेत्रमा उम्मेदवार फेरबदल गर्ने र नयाँलाई उम्मेदवारी उठाउने केन्दीय कार्यालयको योजना थाहा पाएपछि विद्रोहको तयारी अघि बढाइएको एक नेताले बताए ।
यसरी, नेतृत्वविरुद्ध विद्रोहको तयारी गर्नेमा जनयुद्धकालमा लडाइँमा घाइते भई खुट्टा गुमाएका गंगा लामादेखि काठमाडौंका पुराना कार्यकर्ता माधव तिमल्सिनासम्म छन् । स्थानीयलाई नै उम्मेदवार बनाउनुपर्ने भन्दै काठमाडौं–३ का महेश्वर फुयाँल, ४ का गंगा लामा, ६ का माधव तिमल्सिना, ९ का सुरेन्द्र भुजेल र १० मा सुरेश शाही तथा गुठी संस्थानका अध्यक्षसमेत रहेका पञ्चलाल महर्जनले अहिले विद्रोहको योजना अघि बढाएका हुन् ।
एमाओवादीले काठमाडौं–१ मा अध्यक्ष पुष्पकमल दाहालपुत्री रेणु दाहाल, २ मा लीलामणि पोखरेल, ३ मा गणेश रेग्मी, ४ मा नन्दकिशोर पुन (पासाङ), ५ मा महेन्द्र श्रेष्ठ, ६ मा हिमाल शर्मा, ७ मा हिसिला यमी, ८ मा मुक्ति प्रधान, ९ मा देवेन्द्र पौडेल र १० मा अध्यक्ष दाहाललाई उठाउने तयारी गरेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । यसअघिको निर्वाचनमा माओवादीले काठमाडौंको चारओटा निर्वाचन क्षेत्रमा जितेको थियो ।
स्थानीय र कार्यक्षेत्रमा काम गरेका नेतालाई भन्दा पनि पार्टीले केन्द्रीय नेता भन्दै लाद्न खोजेको स्थानीय नेता–कार्यकर्ताको आरोप छ । सोही कारण एमाओवादीका जिल्ला समितिदेखि राज्यस्तरका नेताहरू विद्रोहको तयारीमा लागेका हुन् । पूर्वलडाकू प्रमुख नन्दकिशोर पुन (पासाङ) प्रस्तावित भएको काठमाडौं–४ मा विद्रोहीका रूपमा उम्मेदवारी दिन लागेका गंगा लामाले पार्टीलाई बलिदान दिनेहरूको मूल्यांकन हुन नसक्दा आफूले घाइते, अपांगहरूको प्रतिनिधि पात्रको रूपमा उम्मेदवारी दिन लागेको बताए ।
उत्तरी लमजुङको पाचोक गाविसस्थित थैलुङमा २०६० सालको ८ चैतमा सेनाको घेरामा पर्दा बायाँ खुट्टा गुमाएका उनले इमानदार भएर पार्टी काममा निरन्तर लागे पनि पार्टीले शान्ति प्रक्रियामा आएपछि बेवास्ता गरेकाले आपूmले उम्मेदवारी दिन लागेको बताए । ‘युद्धका बेला प्रयोग गर्ने तर शान्तिकालमा आएपछि अपांग भन्दै मिल्काउने काम भएकाले पार्टीविरुद्ध नै उम्मेदवारी दिन लागेको हुँ,’ लामाले भने, ‘घाइते योद्धाहरू पार्टीप्रति असन्तुष्ट छन् भन्ने देखाउन पनि पूर्वलडाकू प्रमुख पासाङ लड्न लागेकै क्षेत्रमा बागी दिन लागेको हुँ ।’
एमाओवादीले स्थानीय स्तरबाट निर्वाचनमा उम्मेदवारको टुंगो लगाउन नसकेपछि अब भने केन्द्रबाटै टुंग्याउँदै लैजाने तयारी गरेको स्रोतको भनाइ छ । दुई क्षेत्रमा तालमेल एमाओवादीले आफू जित्नका लागि काठमाडौंको दुईओटा निर्वाचन क्षेत्रमा भने नेपाः राष्ट्रिय पार्टी र संघीय समाजवादी पार्टीसँग तालमेल गर्ने तयारी गरेको छ ।
एमाओवादी स्रोतका अनुसार काठमाडौं–६ मा संघीय समाजवादी र ८ मा नेपाः राष्ट्रिय पार्टीसँग तालमेल गर्ने योजना बनाएको हो । ‘पहिचानसहितको संघीयताका पक्षधर नेपाः पार्टी र संघीय समाजवादीसँग तालमेलका विषयमा छलफल चलिरहेको छ,’ एमाओवादी नेवाः राज्यसमितिमा कार्यरत एक केन्द्रीय सदस्यले भने, ‘सकेसम्म काठमाडौं–६ र ८ मा तालमेल हुन्छ ।’

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat