Breaking News
Loading...
Saturday, August 17, 2013

उड्दाउड्दै जहाज बिग्रियो, बीच बाटोबाटै फिर्ता

काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा जहाज 'ग्राउन्डेड' भएलगत्तै अर्को जहाज उड्दाउड्दै बीच आकासबाटै फकिएको छ। काठमाडौंबाट मंगलबार हङकङ गएको निगमको बोइङ ७५७ ९एन एसिबी जहाज एक घन्टा परको दुरीमा पुगेपछि प्राविधिक समस्या उत्पन्न भयो र चालकदलले यतै फर्काएर ल्याए। यस्ता समस्या निगमका लागि नौलो भने होइन।

'एसिबी जहाजको 'अटो पाइलटिङ' मा समस्या उत्पन्न भएपछि बीच आकासबाटै फर्काएर ल्याउनुपर्यो ,' निगमका इन्जिनियरिङ डाइरेक्टर प्रभाष कर्माचार्यले मंगलबार नागरिकसँग भने, 'त्यसपछि जहाजलाई मर्मत गर्नुपरेकाले हङकङ उडान हुन सकेन। मर्मत पूरा भएपछि राति कतारको दोहा उडाउने तालिका बनेको छ।'

बीच आकासबाटै फर्किएको जहाज क्याप्टेन प्रदीप राजभण्डारीको कमान्डमा थियो। यात्रु कति थिए भन्ने निगमले खुलाउन चाहेन। निगमको हङकङ सेक्टरमा विदेशी पर्यटक बढी हुने गरेका छन्। यो सबैभन्दा बढी आम्दानी हुने सेक्टर हो।

बेलाबेला जहाज बिग्रिने 'रोग' ले ग्रस्त ध्वजावाहकको प्रतिष्ठा यस्तै घटनाले धरापमा पर्ने गरेको छ। उडान रद्द हुँदा आम्दानी गुम्ने त छँदैछ, टिकट बुक गरेका यात्रुलाई अर्को वायुसेवा कम्पनीका जहाजमा पठाउन नसके खाना र बासको व्यवस्थासमेत गर्नुपर्छ। अर्काको जहाजमा पठाउनुपर्दा बढी भाडा तिर्नुपर्छ।

'निगम साढे दुई दशकभन्दा पुराना बोइङ ७५७ मोडेलका जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्ने र यस अवधिमा एउटा पनि जहाज किन्न नसक्ने दक्षिण एसियाकै सम्भवतः पहिलो वायुसेवा कम्पनी हो,' निगमकै एक उच्च अधिकारीले लाचारी पोखे, 'यस्ता पुराना जहाज लिएर सयवटा जहाज र सयभन्दा बढी गन्तव्य भएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग हामी कसरी जुध्न सक्छौं?,'

दुइटै बोइङ पुराना भएका कारण विस्थापन गर्ने समय पनि नजिकिँदै छ। दुईमध्ये एउटा जहाज एक वर्षपछि र अर्को दुई वर्षपछि विस्थापन गर्नैपर्ने हुन्छ। यसका विकल्पमा युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग दुई नयाँ जहाज किन्ने र दुई जहाज भाडामा ल्याउने योजनामध्ये नयाँ किन्ने योजना मूर्तरूप लिँदैछ भने भाडा योजना तुहिइसकेको छ।

निगमको बोइङ एसिए गत जेठ ३१ मा मर्मत गर्न सिंगापुर लगिएको थियो। एक महिनामा आउनुपर्ने तालिका भए पनि मर्मत कम्पनीलाई समयमा भुक्तानी दिन नसक्दा २० पछि जहाज आएको थियो। यहाँ आएको पाँच दिनमै ग्राउन्डेड हुन पुग्यो। सिंगापुरमा मर्मत गर्न २५ लाख ८३ हजार अमेरिकी डलर (२ करोड ७९ लाख ६८ हजार रुपैयाँ) खर्च भएको थियो।

चार दिनमा निगमले झन्डै साढे २ करोड रुपैयाँ आम्दानी गुमाएको छ। एउटा ग्राउन्डेड र अर्कोको उडान गन्तव्य पुग्न नसक्दा यो परिमाणबराबरको आम्दानी गुमेको हो। तीन उडानबाट निगमले २ करोड ३३ लाख ७० हजार रुपैयाँबराबरको आम्दानी गुमाएको हो।

निगमसम्बद्ध एक अधिकारीका अनुसार एसिए ग्राउन्डेड भएपछि मलेसियाको क्वालालम्पुर जानुपर्ने दुई उडान र एसिबीको हङकङ गएको जहाज बीच आकासमै प्राविधिक समस्या आएपछि काठमाडौं फर्किएको थियो।

'एउटा जहाजमा १ सय ९० सिट छन्, अहिले गुमाएको आम्दानी पूरै सिट हिसाब गरेर निकालिएको हो,' ती अधिकारीले भने, 'यसमा सिट भराइ दरले आम्दानी केही तलमाथि हुन्छ।'

निगमले क्वालालम्पुर एक उडान (दुईतर्फी) बाट ७६ लाख रुपैयाँ आम्दानी गर्छ। दुई उडानबाट १ करोड ५२ लाख रुपैयाँ उठ्ने गर्छ। मलेसियाका लागि प्रतियात्रु दुईतर्फी भाडा दर ४० हजार रुपैयाँ रहेको छ।

काठमाडौं–हङकङ दुईतर्फी उडान सफल हुन नसक्दा निगमले ८१ लाख ७० हजार रुपैयाँ गुमाएको छ। हङकङ जान प्रतियात्रु भाडा दर दुईतर्फी ४३ हजार रुपैयाँ लाग्छ। प्रत्येक टिकटका लागि एजेन्टलाई पाँच प्रतिशत कमिसन दिनुपर्छ।

निगमका अर्का एक अधिकारीले भने काठमाडौंबाट जाँदा सबै सिट भरिने गरे पनि उताबाट फर्कंदा भने यात्रु कम हुने गरेको बताए। क्वालालम्पुरबाट फर्कंदा अहिले ३० देखि ३५ जनामात्र यात्रु हुने गरेको र हङकङतर्फको सिट भराई दर (अकुपेन्सी) ८० प्रतिशतमा खुम्चिएको उनले जानकारी दिए। 'त्यही भएर कम आम्दानी गुमेको छ।'

सम्बद्ध अधिकारीले भने विदेशी पर्यटकलाई सकेसम्म अर्को कम्पनीको जहाजमा पठाउने व्यवस्था मिलाइको भए पनि नेपाली यात्रुलाई भने यतैका होटलमा खाना र बासको व्यवस्था गरी भोलिपल्ट उडाउने गरेको जानकारी दिए।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat