प्रचण्डमाथि २० अर्वको मुद्दा

लडाकुका नाममा २० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डलगायत केही उच्च पदस्थ व्यक्तिलाई भ्रष्टाचारको मुद्दा लगाउने तयारी गरिरहेको बताइएको छ ।
आयोगले शिविरमा रहेका तत्कालीन माओवादी लडाकुको तलब–भत्ताका लागि राज्यकोषबाट वितरण भएको रकमसम्बन्धी पूर्णविवरण पठाउन शान्ति मन्त्रालयलाई हालै दोस्रो पत्र लेखेको छ । आयोगले शिविरमा उपस्थित नभएका व्यक्तिलाई नक्कली लडाकुका रुपमा देखाएर अरबौं रुपैयाँ भ्रष्टाचार भएको आशंकामा छानबिन गरिरहेको छ ।
माओवादी लडाकुको एकिन विवरण संकलन गर्न गठित कार्यदललाई दिइएको भुक्तानीको विवरण माग गर्दै अख्तियारले केही महिनाअघि पत्र पठाएको थियो ।
मन्त्रालयले जवाफ पठाएपछि ‘अनियमितता’ मा संलग्न व्यक्तिहरुसँग बयान लिने उसको तयारी छ । तत्कालीन सेना समायोजन विशेष समितिले लडाकु तथा शिविरका लागि राज्यकोषबाट भएको खर्च दुरुपयोग भएको निष्कर्षसहित यसमा छानबिन गर्न नीतिगत निर्णय गरेको थियो । एमाले निकट युवा संघले पनि लडाकु तथा शिविरका नाममा करोडौं रकम भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी गरेको थियो ।
०६३ मंसिर ५ मा शान्ति–सम्झौत भएपछि सुरुमा ३२ हजार २ सय ५० लडाकु शिविरमा उपस्थित भएको बताइएको थियो । राष्ट्रसंघीय मिसन अनमिनको प्रमाणीकरणमा १९ हजार ५ सय लडाकुमात्र योग्य भएका थिए । प्रमाणीकरणका बेला १८ वर्षमुनिका ४ हजार ८ लडाकुलाई शिविरबाट निकालिएको थियो । अनमिनको प्रमाणीकरणअनुसार लडाकुको कुल संख्या १९ हजार ६ सय भनिए पनि समायोजन तथा पुनस्र्थापनाका लागि भएको पुनर्वर्गीकरणमा १७ हजार ७४ लडाकु सामेल भएको पाइएको थियो । त्यसबेला करिब ३ हजार लडाकु गायब भएका थिए । ०६३ मंसिरदेखि ०६५ भदौसम्म प्रतिलडाकु मासिक भत्ता ३ हजार थियो भने ०६५ असोजदेखि बढाएर ५ हजार र ०६८ साउनदेखि साढे ६ हजार बनाइएको थियो । शान्ति–प्रक्रिया सुरु भएको झन्डै ६ वर्षको अवधिमा माओवादी शिविर तथा लडाकु व्यवस्थापनका नाममा २० अर्ब रुपैयाँभन्दा बढी खर्च भएको शान्ति मन्त्रालयको तथ्यांक छ । तर, मन्त्रालयका सचिव धरणीधर खतिवडाले अख्तियारको पत्रबारे आफूलाई केही जानकारी नभएको बताएर पन्छिन खोजेका छन् ।
0 comments:
Post a Comment