Breaking News
Loading...
Tuesday, September 24, 2013

दसैंका लागि जोगाइएको जहाज मन्त्रीले उडाए

काठमाडौ, आश्विन ८ - इन्जिनको समयावधि सकिन लागेर नियमित उडान बन्द गरी दसैंका लागि भनी जोगाएको वायुसेवा निगमको एक मात्र टि्वनअटर विमानलाई पर्यटनमन्त्री रामकुमार श्रेष्ठले विभिन्न कार्यक्रममा लगेर १० घन्टा खर्च गरिदिएका छन् ।
असोज १ गते मनाङको हुम्डे विमानस्थल स्तरोन्नतिको निरिक्षणका लागि भन्दै चार्टरमा मन्त्री श्रेष्ठ झन्डै एक दर्जनलाई निगमको टि्वनअटरबाट लिएर गएका थिए । त्यस्तै अन्य कार्यक्रम गरी उनले ५ घन्टा बढी खर्च गरिदिएका हुन् ।
निगमका अनुसार भदौ २४ मा टि्वनअटरको इन्जिन आवर ४८ घन्टा मात्र बाँकी थियो । त्यसयता केही उडान भरेको निगमले दसैंमा सर्वसाधारणलाई सेवा दिन बीचका नियमित उडान रद्द गरी राखेको थियो । तर मन्त्रीले उडाइदिएपछि अब निगमको ३५ घन्टा मात्र बाँकी छ ।  'चार्टर नै गर्नुपरे अन्य विमान कम्पनी पनि थिए,' स्रोतले भन्यो 'आवर कम भएको भनेर नउडाइएको टि्वनअटर मन्त्रीका लागि चार्टर गर्न थालेपछि सर्वसाधारणले कसरी सेवा पाउँछन् ?'
पर्यटन मन्त्रालयले नै दसैंमा दुर्गम क्षेत्रमा सहुलियत उडान सेवा दिन विमान कम्पनीलाई आग्रह गरेको थियो । तर मन्त्रीले नै निगमको समस्या नबुझिदिएकामा कर्मचारी खिन्न छन् । 'मन्त्री जाने भएपछि उडान गर्ने समयमा पनि यात्रु झारेर त सुविधा दिइन्छ,' निगमका एक कर्मचारीले भने, 'त्यसमाथि उडान घन्टा बचत भएको भए उडाउन केही समस्या थिएन ।' चार्टर भाडा पनि नतिरिएको स्रोतले जानकारी दियो ।
निगमका वित्तीय विभाग प्रमुख केशव शर्माले आफ्नो मन्त्रालयका मन्त्री/सचिवलाई सेवा दिनु निगमको दायित्व भएको बताए । निगमको जहाजलाई पर्यटनमन्त्रीले पहिलेदेखि नै भाडाबिना निर्वाध प्रयोग गरिरहेकामा अहिलेका मन्त्रीले पनि यो प्रवृत्तिलाई निरन्तरता दिएको गुनासो निगम कर्मचारीको छ ।
मन्त्री प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत भएकाले स्तरोन्नतिको निरीक्षणका लागि जान जरुरी भएको दाबी मन्त्रालयका प्रवक्ता मोहन कृष्ण सापकोटाले बताए । 'प्राधिकरणको आफ्नै जहाज भएको भए समस्या हुँदैनथ्यो,' उनले भने, 'प्राधिकरणको कामका लागि गएकाले मन्त्रालयले बिल भुक्तान गर्दैन ।' काठमाडौंबाट मनाङसम्मको चार्टरबापतको भाडा ३ हजार ५ सय डलरभन्दा बढी पर्छ ।
निगम प्रवक्ता गणेशबहादुर चन्दका अनुसार अहिलेसम्म मन्त्रालय वा प्राधिकरणमध्ये कुनले रकम तिर्ने हो, थाहा छैन । टि्वनअटरको इन्जिन ल्याएर जहाज थप गर्ने योजना बनाए पनि समयमा नआउने भएपछि दसैंका बेला आन्तरिकतर्फ निगमले ३५ घन्टा मात्र उडान गर्न सक्ने अवस्था छ । 'त्यसमा पनि मन्त्री तथा सचिवका लागि चार्टर गर्न थालेपछि सर्वसाधारणले निगमबाट सहज सेवाको अपेक्षा नगरे पनि भयो,' निगमका एक अर्का कर्मचारीले भने । भारतीय तथा अमेरिकी कम्पनीसँग गरी निगमले ६ वटा इन्जिन ल्याएर दसैंका बेला चलिरहेको जहाजसँगै तीन जहाज उडान गर्ने लक्ष्य लिएको थियो । पछिल्लो पटक गत जेठ २ गते जोमसोममा टि्वनअटर दुर्घटना भएपछि आन्तरिकमा एउटै जहाज बाँकी छ । अन्य तीन जहाजमध्ये दुई इन्जिन नभएकाले ग्राउन्डेड छ भने एउटामा इन्जिनसहित अन्य प्राविधिक समस्या रहेको निगम इन्जिनियरिङ विभागले जनाएको छ ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat