Breaking News
Loading...
Saturday, September 21, 2013

पूर्वप्रधानमन्त्री को कहाँबाट उठ्दै ?

अघिल्लो संविधानसभा अवधिमा प्रधानमन्त्री भएका चार पार्टीका शीर्ष नेताले पुरानै क्षेत्रमा चुनाव लड्ने तयारी गरेका छन् । डा. बाबुराम भट्टराई भने पुरानो क्षेत्र छाडेर नयाँ ठाउँबाट चुनाव लड्ने भएका छन् । विगतको चुनावमा रोल्पा र काठमाडौंबाट उठेका एकीकृत माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं १० र धनुषा ६ बाट चुनाव लड्ने निश्चित भएको छ । गत संविधानसभा निर्वाचनमा धनुषा–६ मा माओवादीकै रामकुमारी यादवले चुनाव जितेकी थिइन् ।

पहिलो संविधानसभाको निर्वाचनपछि प्रधानमन्त्री भएका प्रचण्डले गत संविधानसभामा काठमाडौं १० र रोल्पा २ बाट चुनाव जितेका थिए । प्रचण्डले रोल्पा २ मा ३४ हजार दुई सय २० मत र काठमाडौं १० बाट २३ हजार दुई सय ७७ मत ल्याएका थिए । प्रचण्डपछि प्रधानमन्त्री बनेका माधवकुमार नेपाललाई एमालेले यसपटक काठमाडौं २ र रौतहट १ बाट चुनाव लडाउने गरी सिफारिस गरेको छ । अघिल्लो संविधानसभामा उनले काठमाडौं २ र रौतहट ६ मा चुनाव हारेका थिए ।

काठमाडौं २ मा उनलाई माओवादीका झक्कु सुवेदी र रौतहटमा माओवादीकै देवेन्द्र पटेलले हराएका थिए । काठमाडौं २ बाट उनी चुनाव लड्ने निश्चित भइसकेको समाचार नेत्र पन्थीको बाइलाईनमा आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

काठमाडौं २ मा सुवेदीको १३ हजार आठ सय ५८ मत र नेपालको १२ हजार तीन सय २५ मत आएको थियो । रौतहट ६ मा पटेलले १० हजार एक सय ३१ र नेपालले आठ हजार नौ सय ८६ मत पाएका थिए । उनी अहिले सिफारिस भएको रौतहट १ मा गत संविधानसभामा बबन सिंहले चुनाव जितेका थिए । उनले नौ हजार दुई सय एक मत ल्याएका थिए । एमाले भने चौथो स्थानमा थियो । एमालेका रेवन्त झाले चार हजार पाँच सय २९ मत पाएका थिए ।

यसैगरी, एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम १ बाट चुनाव लड्दै छन् । खनाल विघटित संविधानसभाको तेस्रो प्रधानमन्त्री थिए । अघिल्लो संविधानसभामा उनले १७ हजार ६ सय ५७ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता बेनुपराज प्रसाईंले १३ हजार सात सय ४४ मत पाएका थिए । खनाललाई एमालेले काठमाडौं ९ बाट समेत सिफारिस गरेको छ । गत संविधानसभामा कांग्रेसका ध्यानगोविन्द रञ्जितले १२ हजार पाँच सय एक मत ल्याएर जितेका थिए । एमालेका कृष्णगोपाल श्रेष्ठले १२ हजार एक सय ९४ मत ल्याएर तेस्रो स्थानमा थिए ।

पहिलो संविधानसभाका चौथो प्रधानमन्त्री डा. बाबुराम भट्टराई विगतको गोरखा २ छाडेर नयाँ ठाउँबाट चुनाव लड्दै छन् । उनले गत संविधानसभामा गोरखा २ बाट ४६ हजार दुई सय ७२ मत ल्याएर चुनाव जितेका थिए । डा. भट्टराईलाई माओवादीले अहिले गोरखा १ र रूपन्देही ४ बाट चुनाव लडाउने भएको छ । गत संविधानसभामा गोरखा १ मा माओवादीकै पार्वती थापा र रूपन्देही ४ मा एमाले नेता विष्णु पौडेलले चुनाव जितेका थिए । गोरखा १ मा थापाले ४० हजार ६ सय ६ मत ल्याएकी थिइन् । रूपन्देही ४ मा पौडेलले १५ हजार आठ सय ८० मत प्राप्त गरेका थिए । दोस्रोमा माओवादीका भक्तिप्रसाद पाण्डेले १३ हजार चार सय २१ मत ल्याएका थिए ।

गत संविधानसभा निर्वाचनमा डडेलधुराबाट २० हजार पाँच सय २९ मत ल्याएर जितेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटक पनि त्यही क्षेत्रमा चुनाव लड्दै छन् । त्यहाँबाहेक देउवा अहिले कैलाली ६ बाट पनि चुनाव लड्दै छन् । सो क्षेत्रमा गत संविधानसभा चुनावमा माओवादी उम्मेदवार लीलाकुमारी भण्डारीले १४ हजार आठ सय २६ मत ल्याएर चुनाव जितेकी थिइन् । कांग्रेसका उम्मेदवार टेकबहादुर चोखाल ११ हजार दुई सय ८४ मत ल्याएर पराजित भएका थिए ।

अघिल्लोपटक देउवा कञ्चनपुर ४ बाट १२ हजार आठ सय २४ मत पाएर विजय बनेका थिए । माओवादी उम्मेदवार हरिश ठकुल्लाले ११ हजार सात सय ९५ मत पाएका थिए । त्यहाँ भएको उपचुनावमा भने ठकुल्ला नै विजय भएका थिए ।

अघिल्लो संविधानसभा निर्वाचनमा धनुकटा २ बाट चुनाव हारेका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले यसपटक त्यस क्षेत्रमा छोरा सुनिल थापालाई उठाउँदै छन् । सो क्षेत्रमा गत संविधानसभामा माओवादी नेता हरिराज लिम्बू १२ हजार दुई सय ९९ मत ल्याएर विजयी भएका थिए । थापा तेस्रो स्थानमा आएका थिए । थापा यसपटक समानुपातिकमा जाने तयारीमा छन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रारम्भिक चरणमा सिफारिस गरेको छैन । उनी पनि समानुपातिकमा आउने सम्भावना छ ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat