इराकमा सिरियाली शरणार्थीको ओइरो
टिग्रिस (बीबीसी), भाद्र ३ - हजारौं संख्याका सिरियाली नागरिक पेस्खाबोर सीमा पार गर्दै छिमेकी देश इराकको कुर्दिस्तान पुगेका छन् । उनीहरू गत बिहीबारदेखि इराकी भूमि प्रवेश गर्न थालेका हुन् ।
शनिबार मात्र १० हजारभन्दा बढी सिरियाली नागरिक इराक प्रवेश गरेको संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले जनाएका छन् । बिहीबार र शुक्रबार ७ हजार सिरियाली नागरिक त्यहाँ पुगिसकेका थिए । राष्ट्रसंघीय एजेन्सी, कुर्दिस्तान क्षेत्रीय सरकार र गैरसरकारी संस्थाहरू उनीहरूको व्यवस्थापनमा जुटेका छन् । ती शरणार्थी सिरियाका अलेप्पो, क्वामिस्लीलगायत क्षेत्रका छन् । कुर्दिस्तानको दारासक्रन नजिक उनीहरूका लागि आकस्मिक शिविर तयार पारिएको राष्ट्रसंघले जनाएको छ ।
सिरियाली नागरिक इराकतर्फ जानुको यकिन कारण नखुलेपनि सिरियाली कुर्द र सरकारविरोधी इस्लामिक लडाकुबीच बढ्दो झडप र हिंसाका कारण उनीहरू सुरक्षित स्थानको खोजीमा निस्केको अनुमान छ ।
शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तले जेनेभामा एकसाथ देश छाडेर जाँदै गरेका नागरिकहरूको यो एक ठूलो प्रवाह भएको बताए । सन् २०११ मार्च यता सिरियामा शासन गरिरहेका राष्ट्रपति बसार अल असद सरकारविरुद्ध सुरु आन्दोलनका कारण नागरिक देश छाडेर हिँड्न थालेका हुन् । पछिल्लो समय इराक प्रवेश गरेका सिरियालीमा अधिकांश सपरिवार छन् । उनीहरू देशको उत्तरी क्षेत्रबाट धमाधम इराक प्रवेश गरिरहेका छन् । सुरक्षित स्थलमा पुर्याउन बस, फेरी र आकस्मिक शिविर व्यवस्थापनमा राष्ट्रसंघीय एजेन्सी, कुर्दिस्तान क्षेत्रीय सरकार र गैरसरकारी संस्थाहरूलाई हम्मेहम्मे परेको छ ।
सिरियाली जनसंख्याको १० प्रतिशत हिस्सा ओगट्ने अल्पसंख्यक कुर्दहरू खासगरी उत्तरी क्षेत्रमा बसोबास गर्छन् । जसले सरकारविरुद्ध सशस्त्र आन्दोलन गरिरहेका छन् ।
इराकी कुर्दिस्तान सरकारले सिरिया तनाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको दाबी सिरियाली सरकारको छ । इराकी कुर्दिस्तान प्रमुख मसुद बर्जानीले सिरियाली कुर्दहरू जीवन र मरणको खतरामा भए आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । इराकी कुर्दिस्तान ३ प्रान्तमा बाँडिएको छ । जसका आफ्नै सेना र प्रहरी छन् ।
टिगि्रस नदीमाथि धमाधम नयाँ पुन्टुन पुलहरू निर्माण भइरहेका छन् । यस्ता पुल आफ्नो भूमिमा आउने सिरियाली नागरिकलाई लक्षित गर्दै बनाइएका हुन् । करिब १ लाख ५० हजार सिरियाली नागरिक यसअघि नै इराकमा शरणार्थी छन् । हिंसात्मक झडप बढेपछि करिब २० लाख सिरियाली आफ्नो देश छाडेर हिँडेको अनुमान छ ।
0 comments:
Post a Comment