Breaking News
Loading...
Friday, August 2, 2013

निगमको मासिक घाटा ११५ करोड

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र डलरको भाउ महँगिएपछि आयल निगमको मासिक घाटा १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। निगमको अहिलेको नोक्सानी अढाई वर्षपछिको सबैभन्दा बढी हो। घाटामा गएपछि निगमले भारतबाट तेल ल्याउन आवश्यक रकमको अभाव झेल्नुपर्ने हुन्छ। तेल ल्याउन आवश्यक रकम जुटाउन वाणिज्य मन्त्रालयले विभिन्न उपाय खोजिरहेको छ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यअनुसार निगमलाई ग्यासमा एक सिलिन्डरमा ५ सय २३ रुपैयाँ ७३ पैसा घाटा छ।
मन्त्रालयले ग्यासको घाटा कम गर्न परल मूल्यमा ग्यास बिक्री गरेर घरायसी उपभोक्तालाई अनुदान दिने तयारी गरिरहेको छ। मन्त्रालयले बिहीबार ग्यास उद्योगीलाई बोलाएर घरायसी उपभोक्तालाई अनुदान दिन कुन संयन्त्र प्रयोग गर्न सकिन्छ भनेर सुझाव मागेको थियो।
'हामीले ग्यास उद्योगीलाई बोलाएर व्यावसायिक प्रयोजनमा छिटोभन्दा छिटो निलो सिलिन्डर लागू गर्न आग्रह गरेका छौं,' निगम प्रवक्ता शिवप्रसाद पुडासैनीले नागरिकसँग भने, 'ग्यासमा सबैभन्दा बढी नोक्सानी छ। व्यावसायिक प्रयोजनलाई परल मूल्यमा ग्यास बिक्री गरे निगमलाई थोरै भए पनि राहत हुन्छ।' नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरे घरायसी उपभोक्तालाई अनुदान दिन कुनै समस्या नरहेको बताउँछन्।
'दुईथरि सिलिन्डर कार्यान्वयनमा आइसकेको छ। दुई वर्ष तयारी गरेर ल्याएकोले अब ढिला गर्नुपर्ने कुनै कारण छैन,' उनले भने, 'तर अझै पनि सरकारी निकाय द्विविधामै छन्।' उनका अनुसार ग्याससम्बन्धी कार्यविधिमा घरायसी उपभोक्तालाई बैंकिङ प्रणालीमार्फत अनुदान दिने व्यवस्था भइसकेको अवस्थामा फेरि अनुदान कसरी दिने भनेर सरकारी निकायले विकल्प खोज्नु द्विविधापूर्ण छ। प्रवक्ता पुडासैनी पनि ग्यासमा परल मूल्य घोषणा गरेर घरायसी उपभोक्तालाई अनुदान दिन कुनै समस्या नरहेको बताउँछन्।

'पाँच लाख कार्ड प्रमाणीकरण गरेर पठाइसकेका छौं। कार्ड वितरण भइसकेको अवस्थामा अनुदान कार्यान्वयनमा ल्याउन समस्या छैन,' उनले भने, 'हामीले व्यावसायीलाई निलो सिलिन्डर दिन ग्यास उद्योगीलाई भनेका हौं।'

आइओसीले पठाएको नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा समेत घाटा छ। पेट्रोल एक लिटरमा ९० पैसा र डिजलमा ९ रुपैयाँ ३१ पैसा घाटा छ। नयाँ मूल्यअनुसार मट्टितेल र हवाई इन्धनमा मात्रै नाफा छ। मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ५४ पैसा र हवाई इन्धनमा १७ रुपैयाँ ९१ पैसा नाफा छ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat