विश्व यात्रामा निस्केकी जापानी युवती नेपालमा
काठमाडौं, ५ भदौ । महिला अधिकारको वकालत गर्दै विश्व भ्रमणमा निस्केकी जापानी युवती मोमोको फुकुहारा नेपाल आइपुगेकी छिन् । “विश्वका महिलाको खुसीको खोजी” भन्ने नाराका साथ विश्व यात्रामा निस्केकी फुकुहारा दुई हप्ताअघि काठमाडौं आइपुगेकी हुन् । काठमाडौँ बसाइमा क्रममा उनले शक्ति समूह नेपाल नामक गैरसरकारी संस्थामा दुई दिन स्वयम्सेवीका रुपमा काम गरी त्यहाँ आश्रित नेपाली महिलाका बारेमा जानकारी लिइन् ।
यसैगरी, भक्तपुरको नवयुवा बाल सुधार समाजलगायत विभिन्न अनाथ आश्रममा पुगी द्वन्द्वका कारण आमाबाबु गुमाएका अनाथ तथा असहाय बालबालिकाको बारेमा पनि उनले जानकारी लिएको बताइएको छ ।
भ्रमणका क्रममा नेपाली महिलाले परिवार र समाजमा सबैभन्दा बढी सम्मान पाउने गरेको आफूले अनुभूति गरेको उनले बताइन् । पौराणिककालदेखि नै महिलालाई विभिन्न देवीदेवताको नाममा पुज्ने गरेको र अहिले पनि सकभर कठिन काममा नलगाउनु सम्मानको प्रमाण भएको उनको भनाइ छ । तर, नेपाली महिला भावनात्मकरुपमा निकै कमजोर भएको फुकुहाराको अनुभव छ ।
आफूले भ्रमण गरेका सातवटा मुलुकको तुलनामा नेपालमा महिला हिंसा निकै बढी भएको फुकुहाराको भनाइ छ ।
पच्चीस वर्षीया फुकुहाराको यो सातौँ राष्ट्र हो । मे १५ का दिन फिलिपिन्सबाट यात्रा सुरु गरेकी उनले कम्बोडिया, थाइल्यान्ड, भियतनाम, लाओस र भारतको भ्रमण गरिसकेकी छिन् ।
0 comments:
Post a Comment