Breaking News
Loading...
Thursday, August 15, 2013

सुत्केरीको उपचार भुइँमा

बाँके-भेरी अञ्चल अस्पतालको प्रसूति वार्डमा शय्या अभावले सुत्केरीलाई बरन्डाको भुइँमा राखेर उपचार गरिरहेको छ । शल्यक्रिया गरी सुत्केरी गराएका आमालाई फोहोर र चिसो भुइँमा राखेर उपचार गराउँदा घाउ पाकेर कतिपय सिकिस्त छन् ।
सुत्केरी राखिएका बरन्डामा कुरुवा हिंडडुल गर्ने र छेउमै बस्ने गरेकाले घाउमा संक्रमण भई पाक्ने गरेको चिकित्सकले बताएका छन् । शल्यक्रिया गरिएका ६ सुत्केरीका घाउ पाकेको उनीहरूले बताए । 'एक सुत्केरीलाई भेट्न एक हुल आफन्त आउँछन् । उनीहरूले लगाएको जुत्ताचप्पल र कपडामा टाँसिएको धुलो तथा फोहोर पनि प्रसूतिगृहमा ल्याउँछन् । प्रसूतिगृहमा पस्न नपाए झगडा गर्छन्,' स्त्रीरोग विशेषज्ञ डा. कुमारसन शाहले भने, 'शल्यक्रिया गरिएका महिलाको घाउ पाक्ने समस्या अत्यधिक बढेको छ ।'
३२ शय्याको प्रसूति वार्डमा दैनिक १५ देखि ३० सुत्केरीका लागि आउने गरेका छन् । शय्या भरिएपछि ६ सुत्केरीलाइ वार्डको बाटोमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ । सुत्केरीले शय्यामै खाना खाने र अत्यधिक गर्मीका कारण पनि इन्फेक्सन हुने गरेको चिकित्सकले बताए । शल्यक्रिया गरेर सुत्केरी भएकी बर्दिया तारातालकी युकुमारी बैगरको घाउ पाकेपछि पति तप्तबहादुर निकै चिन्तित छन् । 'घाउ पाकेको छ । गर्मी र लामखुट्टेले टोकेर बेहाल छ,' उनले भने, 'प्रसूतिगृहमा बस्न नसक्ने अवस्था छ ।' बाँकेकी शिवा थापा मंगलबार बिहान सुत्केरी भएपछि भुइँमा राखिएको बेडमा आराम गरिरहेकी छन् । सुतेको ठाउँबाट बिरामीका कुरुवा आउजाउ गर्दा निकै समस्या हुने गरेको बताइन् । 'भुइँमा सुत्ने समस्या छ तर बेड नपाएर बस्नुपर्ने बाध्यता छ,' उनले भनिन् ।

अञ्चल अस्पतालका प्रमुख डा. पीताम्बर सुवेदीले सुत्केरीको चाप अध्यधिक रहेकाले भुइँमा राख्नुपरेको बताए । उनले सुत्केरी भएको दुई/तीन दिनमा जनरल वार्डमा राख्दा पनि प्रसूतिगृहमा शय्या अभाव भएको बताए । क्षमताभन्दा बढी महिला प्रसूतिका लागि आउन थालेकाले समस्या भएको उनी बताउँछन् । अञ्चल अस्पतालको प्रसूति वार्डमा मासिक ४ सयसम्म सुत्केरी हुने गरेका छन् । तीमध्ये औसतमा ८० जनाको शल्यक्रिया गर्नुपर्ने जनाइएको छ । प्रसूतिगृहमा तीन डाक्टर र ११ स्वास्थ्यकर्मी खटिएका छन् । उनीहरू पनि आफ्ना क्लिनिक र अरू अस्पतालमा आबद्ध रहेकाले पर्याप्त चिकित्सकीय सेवा नपाएको गुनासो गरेका छन् ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat