Breaking News
Loading...
Wednesday, August 14, 2013

अपर तामाकोशीको डिजाइन फेल झण्डैं ५ अर्ब घाटा

बिजुली संकट घटाउन सबैभन्दा भरपर्दो ठानिएको निर्माणाधिन अपर तामाकोशी जलविद्युत आयोजनाको टनेलको ‘डिजाइन फेल’ भएको छ । 
 
सबैभन्दा संवेनदसिल निर्माण (क्रिटिकल एक्टिभिटी) भनिएको करिब ५ किलोमिटर टनेल मध्ये ३ हजार ५ सय मिटरको डिजाइन हेरफेर गर्नुपर्ने अवस्था आएको हो । 
 
४ सय ५६ मेगावाटको आयोजनामा १६ किमि लामो टनेल मध्ये यो ५ किलोमिटरको स्लोप घटाएर फेरि डिजाइन गर्नुपर्ने अवस्था आएको आयोजनाका अधिकारीहरुले बताएका छन् । 
 
‘हामीले सोचेभन्दा कमलो खालको चट्टान आएकाले स्लोप घटाएर बनाउनुपर्ने भएको छ,’ तामाकोशीका प्रवक्ता गणेश न्यौपानेले भने, ‘त्यसका लागि नर्वेबाट अनुभवी इञ्जिनियरहरु आइसकेका छन् ।’
 
तामाकोशीको डिजाइनमा नर्वेको नरकन्सल्ट कम्पनीले परामर्शदाता रुपमा काम गरिरहेको छ । उसले झण्डैं २ अर्ब फि लिएर गरेको काममा हेरफेर गर्नुपर्ने अवस्थाले आयोजनाको लागत र अवधी दुवै बढ्ने भएको छ । 
 
न्यौपानेका अनुसार १५-२० दिन भित्र स्लोप घटाएर ‘रि डिजाइन’को काम सकिन्छ । उनले टनेलको डिजाइन परिवर्तन गरेर काम गर्दा बढीमा तीन महिना ढिला हुने बताएका छन् । ‘लागत डेढ अर्ब रुपैयाँ मात्र बढ्छ,’ न्यौपानेले भने, ‘भूगर्भमा अनुमान गरे भन्दा फरक चट्टान आएकाले यस्तो समस्या आएको हो ।’
 
आयोजना २०७१ चैत १५ भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको छ । तीन महिनामात्र ढिला हुँदा पनि कम्तीमा ३ अर्ब रुपैयाँ विद्युत महशुल घाटा हुनेछ । २०७१ को चैत मध्येदेखि असार मध्येसम्मको चरम सुख्खायाममा चरम ऊर्जा संकटबाट राहत मिल्ने छैन । 
 
आयोजनाका इञ्जिनियरहरुका अनुसार डिजाइन फेल भएका कारण आयोजनालाई झण्डैं ५ अर्ब रुपैयाँ घाटा हुने देखिएको छ । टनेलको थप लागत र विद्युतको न्यूनतम महशुल दरको हिसाव लगाएर उनीहरुले घाटाको गणना गरेका हुन् ।
तर अहिले भनेजस्तो तीन महिनामात्र ढिला हुनेमा आयोजनाकै इञ्जिनियरहरु विश्वस्त छैनन् । ‘डिजाइन फेल भएपछि स्थानियदेखि अख्तियारसम्मबाट विभिन्न अड्चनहरु आउनेवाला छ,’ ती इञ्जिनियरले भने, ‘कल्सल्ट्यान्टको अपरिपक्व कामले गर्दा हाम्रो आयोजना मारमा पर्ने भयो ।’
 
मन्त्रालय, प्राधिकरण र आयोजनाका केहि इञ्जिनियरहरुले त्रुटीपूर्ण डिजाइनको हर्जाना नरकन्सल्टलाई तिराउनुपर्ने धारणा पनि व्यक्त गरेका छन् । मन्त्रालय र प्राधिकरण नेतृत्वको कन्सल्ट्यान्टलाई ‘माया मानेको’ देखेपछि उनीहरु मुखरित हुन सकेका छैनन । 
 
महँगो फि सहित बनेको नक्सा फेल भयो भने यस्ता ग्लोबल टेन्डरमा कन्सल्ट्यान्ट पनि भागिदार हुनुपर्छ । ठेक्का दिनेको थाप्लामा मात्र घाटाको बोझ पर्दैन । जानकारहरु अनुसार नरकन्सल्ट जस्तो अन्तर्राष्ट्रिय कम्पनीले आफ्नो सेवाको जोखिम विमा गरेका हुन्छन् । 
 
मन्त्री उमाकान्त झा, प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वार यादव र तामाकोशी आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ हर्जानाको दावी गर्ने पक्षमा छैनन् । 
 
श्रेष्ठले यो साता तामाकोशी समन्वय समितिका सदस्यहरुलाई कन्सल्ट्यान्टलाई हर्जाना तिराउन सक्ने ल्याकत नेपालीहरुको नभएको जवाफ दिइरहेका छन् । समितिमा आयोजना निर्माण भइरहेको जिल्ला दोलखाका राजनीतिक दलका प्रमुख, पत्रकार महासंघ अध्यक्ष, जिल्ला विकास समिति एलडिओ लगायत सदस्य छन् । 
 
‘सुरुगंको पैसा बचेकै छ, सुरुक्क डिजाइन फेरेर काम सक्नुमा भलाई छ,’ श्रेष्ठलाई उदृत गर्दै प्राधिकरण स्रोतले भन्यो, ‘नर्वेको कम्पनीसँग लडेर हामीले पार पाउँदैनौं ।’
 
समन्वय समितिका सदस्य राजेन्द्र मानन्धरका अनुसार आयोजनाका अधिकारीले डिजाइन फेल हुनुमा नरकन्सल्टलाई दोष दिने गरेका छैनन् । ‘अनुमान गरेभन्दा फरक चट्टान आउनु नै प्रमुख कारण हो भनेर हामीलाई बताइएको छ,’ मानन्धरले भने ।
 
आयोजनाका प्राविधकले डिजाइनका क्रममा कन्सल्टेन्टले राम्रोसँग ‘हाइडोफ्र्याक्चरीङ टेस्ट’ नगरेकाले डिजाइन फेल भएको दावी गर्दै त्यसको दोषबाट कन्सल्टेन्टलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन् । 
 
तर त्यसको सुनुवाई नहुने संकेत प्रवक्ता न्यौपानेको भनाईबाट बुझ्न सकिन्छ । ‘डिजाइन गर्दा आवश्यक टेस्टहरु एक किलोमिटरको दुरीमा हुने हो,’ उनले भने, ‘अहिले गहिराईमा जाँदा फरक चट्टान आउनुमा भौगर्भिक कारण भन्दा अरु मान्न सकिन्न कि ।’ 
 
तैपनि परामर्शदाताले के कारणले डिजाइन फेर्नुपर्ने अवस्था आयो भन्ने कारण कसरि पेश गर्छ त्यस अनुसार नै आयोजनाले ‘कदम चाल्ने’ उनले बताएका छन् । 

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat