Breaking News
Loading...
Tuesday, September 3, 2013

भैँसी बोल्ने भए थाहा हुन्थ्यो, हत्या हो या आत्महत्या ?

प्राय: पानी परिरहेकाले मौसममा त्यति उष्णताको अनुभव नगरिएपनि आसन्न संविधानसभाको चुनावलाई लिएर राजनीतिक दलका कार्यकर्ताहरु वीचको सरगर्मी र एक युवतीको मृत्युलाई लिएर दिनहुँ निस्कने गगनभेदी नारा सहितको जुलुसले बागलुङ सदरमुकामको वातावरण निकै तातेको छ ।


यहाँ सिगानाकी एक युवतीको मृत्युको प्रसंग उठान गर्न खोजिएको छ । जनै पूर्णिमाको दिन भदौ ५ गते आफना पतिदेव अर्जुन (दुर्गा बहादुर) खडकाका साथ माईती रेश गएर सोही दिन साँझ घर फर्किएकी तुलसी खडका त्यस्को भोलिपल्ट विहान अर्थात भदौ ६ गते भैंसी बाँध्ने गोठ (कटेरा)मा झुण्डिएको अवस्था मृत भेटिईन् । तुलसीको मृत्यु अहिले आत्महत्या वा हत्या बीचमा झुण्डएको छ । माईती पक्ष भन्छन यो सुनियोजित हत्या हो, घरपक्ष भन्छ तुलसीले आत्महत्या गरेकी हुन् ।

स्वाभाविकरुपमा मृतकप्रति सहानुभूति रहन्छ, सायद यहिनै मानवीयता हो । तर यसले आत्महत्या या हत्यालाई ईंगित गर्दैन । यो अनुसन्धान र छानविनको विषय हो । मृतकको शवको पोष्टमार्टम गरिएको छ र भिसेराका लागि काठामाडौँ पठाईएको छ, जस्को रिपोर्ट आउन बाँकी छ ।

मृतकका माइती पक्ष (आफन्त)ले तुलसीको सुनियोजित तरिकाले हत्या गरी झुण्डाईएको भनी तुलसीका पति अर्जुन खडका, सासू भुमा, अमाजू सीता कार्की नन्द रिता कार्की र भानिज रविन कार्कीलाई किटानी उजुरी दिएपछी उल्लेखित अभियुक्तहरुलाई नियन्त्रणमा लिएर घटनाको गम्भिरतापूर्वक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । थुनामा रहेका अभियुक्तहरुलाई प्रहरीले सम्मानित जिल्ला अदालतबाट पहिलो चोटी ५ दिन र पछिल्लो चोटी १५ दिनको म्याद थप गराई अनुसन्धान अगाडी बढाएको बताएको छ भने जिल्ला सरकारी वकिल कार्यालयमा अभियुक्तहरुको बयान लिने काम सकिन लागेको श्रोतको दावी छ ।

यता मृतकका आफन्त शुभचिन्तकहरु ‘हत्यारालाई फाँसी देउ, महिला हिँशा अन्त्य गर’ जस्ता नारावाजी गर्दै दिनहुँ जसो बजार परिक्रमालाई निरन्तरता दिईरहेका छन् । अभियुक्तहरुलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लैजादा होस या जिल्ला अदालतमा म्याद थप्न प्रहरीले लिएर जाँदा होस जुलुस नारावाजी गर्दै पुगेको हुन्छ । हत्याराहरु उम्कन नदिन र कडा कार्बाहीका लागि दबाब दिन भन्दै आज आईतबार पनि जिल्ला प्रहरी कार्यालय जान लागेको महिलाहरुको एक जुलुसलाई प्रहरीले जिल्ला हुलाक कार्यालय अगाडी रोकेको छ । निश्चयपनि हत्या हो भने सही अनुसन्धान गरी अभियुक्तहरुलाई सँजाय दिलाउनै पर्छ, त्यस्मा कसैको दुईमत हुन सक्तैन । र घटनालाई राजनीति वा कसैसंगको प्रतिशोध लिन जनदबाब सिर्जना गरेर अनुसन्धान प्रक्रियामा दखल दिनकै लागी नाराबाजी गरिनुलाई सही कदम मान्न सकिन्न ।

तुलसी यस संसारमा छैनन् । उनको मृत्यु स्वभाविक होईन । तुलसीको मृत्यु, हत्या वा आत्महत्या अनुसन्धान र न्याय सम्पादनले पुष्टी गर्ला त्यो प्रतिक्षाको विषय हो । तर हत्या नभएर आत्महत्या गरेकी हुन् तुलसीले भने आत्महत्या गर्नुपर्ने अवस्थामा कसले पुर्यायो ? के कति कारणले उनी आत्महत्याको निर्णयमा पुगिन ? यो देशमा त्यो कानून बनिसकेको छैन जस्ले कसैलाई आत्महत्या गर्न बाध्य पार्नेमाथि पनि ज्यान मुद्दा चलाएर सजायँ दिलाउन सकियोस ।

कुरा धेरै छन् । जति मुख उति कुरा । कसको कुरा ठीक कसको बेठीक । सुन्दै जाने, बुझदै जाने अनि एउटा बिचार बनाउने । त्यो बाहेक अरु बाँकी नै छैननि त सडकका मान्छेहरु सित ।

तुलसीको हत्या आशंकामा प्रहरी हिराशतमा रहेका अर्जुन घटनाको ८।१० दिन अघी मात्र विदेश रोजगारीबाट घरमा फर्किएका थिए । उनि ३ वर्ष पहिले रोजगारीका लागि खाडी मुलुकमा गएका थिए । घरमा फिरेपछी तुलसीसंग अर्जुनको बसउठ राम्रो थियो । उनी विदेशमा रहँदा यहाँ घरमा सासू, नन्द, अमाजूवीच उनको सम्वन्ध चीसो भएकाले तुलसी प्राय माइती नै बस्ने गर्थिन् ।

रेशमा पूर्णिमाको टीकोटालो पछी भोलि बागलुङ बजार किनमेल गर्न जानु छ भन्दै घर (सिगाना) फर्किएका थिए ती दम्पति । तर त्यो भोलि देखिनन् तुलसीले, गोठमा बाँधेको भैँसी साक्षी छोडेर उनी गईन् कहिल्यै नफर्किने गरी ।

लोग्ने रोजगारी गर्न विदेश गएका धेरै नेपालीहरुको घरजम बिग्रिएका घटनाहरुको चाङ ठुलो छ नेपालमा । दुई तीन वर्ष पछी घरमा आउँदा न आफुले पठाएको कमाई न आफनी अर्धांगिनी सबै गुमाउनेहरुपनि धेरै भेट्टिन्छन गाउँघरमा । यस्ता घटनाहरुलाई मध्यजनरमा राखेर सोँच बिचार गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat