Breaking News
Loading...
Friday, September 13, 2013

सिसी टिभी बिग्रदा अपराध अनुसन्धानमा समस्या

चितवन, भदौ २९ – आपराधिक घटनाको अनुसन्धान सजिलो बनाउन निजी क्षेत्रको सक्रियतामा चितवनका बिभिन्न ठाउँमा जडान गरिएका सिसी टिभीले काम गर्न छोडेको छ ।
सुरक्षा व्यवस्था मजबुत बनाउन भन्दै लाखौंको लगानीमा राखिएका सिसिटिभीले समयमा मर्मत हुन नसक्दा काम गर्न छोडेको हो ।

चितवनका पुराना उद्योगी ब्यवसायीको समुह द थर्ड भिजन र उद्योग वाणिज्य सङ्घ चितवनको संयुक्त लगानीमा सञ्चालन गरिएको सिसी टिभी क्रमशः बिग्रँदै जाँदा एक महिनायता तीनवटा मात्र सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

२०६८ सालमा सञ्चालनमा ल्याइएका २९ वटा सिसी टिभीमध्ये अहिले केन्द्रीय बस टर्मिनल, चौबिसकोठी र लाइन्सचोकमा रहेका सिसी टिभीले मात्रै काम गर्छ ।

यस्तो अवस्थामा आपराधिक घटना भएपनि अनुसन्धान कठिनाई हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले बताउनुभयो । करिब ६० लाखको लागतमा सञ्चालनमा ल्याइएको सिसी टिभी मर्मतका लागि रकम नभएको र चितवनमा दक्ष प्राविधिक समेत नभएको प्रहरीको भनाई छ ।

तर मर्मत गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले भने आफूहरूको पूरा रकम द थर्ड भिजनले दिन नसक्दा मर्मत गर्न नसकिएको जनाएको छ । बिग्रिएका सिसी टिभी मर्मतका लागि जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय र अन्य दातृ संस्थासँग सहयोगको आग्रह गरेको जिल्ला प्रहरी प्रवक्ता राउतले बताउनुभयो ।

सिसी टिभी जडानपछि प्रहरीले चितवनमा चोरी लगायत बिभिन्न आपराधिक घटनामा सजिलै सफलता हात परेको थियो ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat