Breaking News
Loading...
Sunday, August 18, 2013

डलर सय नाघ्दै


काठमाडौं, भाद्र २ - नेपाली बजारमा डलरको मूल्यले १ सय रुपैयाँ उछिन्ने सम्भावना बढेको छ ।
भारतीय बजारमा घट्दै गएको आत्मविश्वास र अमेरिकी अर्थतन्त्रमा आउन थालेको सुधारले डलरको मूल्यलाई नयाँ उचाइमा पुर्‍याउने देखिएको हो । शुक्रबारको नयाँ रेकर्डपछि भारतीय बजारमा अमेरिकी डलरको मूल्यले ६४ देखि ६५ भारतीय रुपैयाँ छुने विश्लेषण सार्वजनिक हुन थालेका छन् । यसो भए डलरको मूल्य १ सय ४ रुपैयाँको हाराहारीसम्म पुग्नेछ ।
भारतीय र नेपाली मुद्राबीच स्थिर विनिमय दर छ जसले भारतमा अन्य मुद्राको मूल्य बढ्नेबित्तिकै नेपालमा पनि बढाउनुपर्छ । 'अहिले मूल्य कता जान्छ भनेर अनुमान गर्न सकिने अवस्था छैन,' अर्थ मन्त्रालयका सल्लाहकार चिरञ्जीवी नेपालले भने, 'हाम्रो अर्थतन्त्रमा बाह्य प्रभाव बढी छ ।' स्थिर विनिमय दरका कारण भारतले चाल्ने कदमले नेपालमा पनि असर पर्ने उनी बताउँछन् । 'पछिल्लो समय भारतीय रिजर्व बैंकले डलरको मूल्य नियन्त्रणमा गम्भीर भएर केही कदम चाल्न थालेको छ,' उनले भने, 'त्यसले बजारमा सकारात्मक असर परे हामीकहाँ पनि मूल्य घट्छ ।' भारतले विशेषगरेर व्यापार घाटा कम गर्न र सुन आयात घटाउन कदम चालिरहेको उनले बताए । 'जसले डलरको मूल्य थप नबढ्ने सम्भावना देखाउँछ,' उनले भने ।
शुक्रबार अमेरिकी डलर भारतीय ६२ रुपैयाँ ०१ पैसामा कारोबार भएको थियो, जसले भारतीय रुपैयाँलाई हालसम्मकै ठूलो गिरावटमा ल्याएको छ । त्यहीअनुसार नेपालमा पनि शनिबार र आइतबारका लागि विनियम दर ९९ रुपैयाँ २ पैसा तोकिएको छ । शनिबारको मूल्यअनुसार अमेरिकी डलर दुई वर्षभित्र २८ रुपैयाँले बलियो भएको छ । २०६८ साउनमा एक अमेरिकी डलर खरिद गर्न ७१ रुपैयाँ ४१ पैसाको हाराहारी खर्च गर्नुपथ्र्यो ।
डलरलाई थप बलियो बनाउन भारतमा केही दिन लगानीकर्ताको मनोविज्ञानले काम गर्ने देखिएको छ । आयातकर्ताले महिनाको अन्त्यमा बढाउने डलरको माग र सरकारले आयात गरेको सुरक्षासम्बन्धी सामानको भुक्तानीबाट मूल्यमा चाप पर्ने विश्लेषण गरिएको छ । शुक्रबार रुपैयाँ कमजोर भएपछि भारतीय सेयर बजारमा ठूलो गिरावट र सुनको मूल्यमा वृद्धि भएको थियो ।
अमेरिकी अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेपछि विदेशी लगानीकर्ताको ध्यान विकासशील अर्थतन्त्रबाट मोडिन थालेको छ, जसले भारतलगायतका मुलुकबाट विदेशी मुद्रा बाहिरिने क्रम बढेको छ । यसको असर सेयर बजारदेखि अन्य क्षेत्रमा पनि देखिएको छ । भारत सरकारले दूरसञ्चार, उड्डयन लगायतका क्षेत्रमा विदेशी लगानीको दायरा बढाए पनि रकम भित्रिन सकेको छैन । अमेरिकामा लगानी गर्दा आउने प्रतिफल बढी हुने देखेपछि विदेशी लगानीकर्ता यस्ता मुलुकबाट बाहिरिन थालेका हुन् ।
अमेरिकी डलर यही गतिमा बढ्दै जाने हो भने सबैभन्दा पहिलो असर पेट्रोलियम पदार्थमा देखिनेछ । भारतबाट खरिद गर्ने भएकाले डलर बलियो हुँदै जाँदा नेपालमा पेट्रोलियम पदार्थको मूल्य पनि बढ्छ । घाटामा रहेको आयल निगमलाई थप दबाब परेर मूल्य पुनः समायोजन गर्नुपर्ने अवस्था आउँछ । गत साता मात्र बढेको पेट्रोलियम पदार्थको मूल्यमा पनि प्रमुख कारक डलरको मूल्य नै थियो ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat