Breaking News
Loading...
Tuesday, August 20, 2013

डलर महँगो हुँदैमा आत्तिनु पर्दैन

काठमाडौं, ४ भदौ । भारतीय मुद्राको निरन्तर अवमूल्यनका कारण अमेरिकी डलर महँगो बन्दै गएको आर्थिक क्षेत्रका जानकारहरुले बताएका छन् ।मुलुकको अर्थतन्त्रलाई थप बिग्रन नदिन भारत सरकारले बजार हस्तक्षेप गरी सञ्चित सुन र वैदेशिक ऋणपत्र बिक्री गर्न सक्ने नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउनुहुन्छ । विगतमा पनि भारतले त्यसो गरेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले रासससँग सङ्क्षिप्त कुरा गर्दै अमेरिकी डलर महँगो भएकामा आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।
“भारतीय रिजर्भ बैंकका गभर्नरको पदावधि समाप्त भएको र नयाँ गभर्नरले कार्यभार सम्हाली नसकेकाले सङ्क्रमणकालीन स्थितिमा झन्डै भारु १२ अर्बको वैदेशिक लगानी फिर्ता हुन गएबाट डलरको मोल बढेको हो”–हालको भाउ वृद्धिको क्रम एक साताभन्दा बढी नहुने विचार व्यक्त गर्दै उहाँ भन्नुहुन्छ ।
भारतसँगको स्थिर विनिमय प्रणालीलाई ‘मुद्रा डालो’मा परिवर्तन गरी कारोबाट गर्नुपर्ने केही अर्थशास्त्रीको अभिमतप्रति असहमति जनाउँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहिसक्नुभएका श्री क्षेत्री त्यसले मुलुकको नीतिमा निर्माणमा अस्थिरता आई अर्थतन्त्रलाई थप प्रभावित पार्ने तर्क गर्नुहुन्छ ।
नेपाल राष्ट्र बैंकले मौजुदा विदेशी मुद्राको सञ्चितिलाई घट्न नदिने र मूल्यवृद्धि रोक्ने उपाय अवलम्बन गर्नेबाहेक तत्काल केही गर्न नसक्ने उहाँको भनाइ छ । केन्द्रीय बैंकले विदेश जान चाहनेलाई उदारतापूर्वक दिएका सटही सुविधा र सुनको आयातको वर्तमान व्यवस्थामा पुनर्विचार गर्नुपर्ने श्री क्षेत्रीको सुझाव छ ।
अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउने उपाय तत्काल अवलम्बन गर्नुपर्नेमा जोड दिँदै मूल्यवृद्धि नियन्त्रण गर्न बजारमा हस्तक्षेप गर्नैपर्ने बताउनुहुन्छ । भारतसँगको स्थिर विनिमय प्रणाली हटाइएमा हाम्रो कमजोर अर्थतन्त्र अझ दुर्बल बताउँदै हामीले स्वतन्त्र रुपमा मुद्रालाई बजारमा निर्धारण गर्न नसक्ने सल्लाहकार नेपालले बताउनुभयो ।
“हाम्रो अर्थतन्त्रलाई सुदृढ तुल्याई निर्यात बढाउने र परनिर्भरता कम गर्नु नै वैकल्पिक उपाय हो ।” तत्काल त्यसो गर्न नसकिए पनि दीर्घकालीन रुपमा आत्मनिर्भर अर्थतन्त्र बनाउनै पर्ने उहाँले भन्नुभयो ।    डलरको मूल्यवृद्धिले सर्वाधिक मार पेट्रोलियम पदार्थ आयातमा पर्नेछ । नेपाल आयल निगमले अहिले नै मासिक रु एक अर्ब २६ करोड घाटा बेहोरिरहेको छ भने डलरको भाउ बढ्दा यो अझ विस्तारित हुनेछ । आयल निगमका सामु मूल्य समायोजन गर्नुको कुनै विकल्प रहने छैन र अन्ततः त्यसको भार आम उपभोक्तामा पर्नेछ ।
त्यसैगरी औद्योगिक कच्चापदार्थ आयातमा बढी मूल्य तिर्नुपर्ने छ भने उत्पादन लागत बढ्न गई वस्तुको मूल्य अनपेक्षित रुपमा अधिक हुनेछ । त्यस्तै, अन्तर्राष्ट्रिय हवाई टिकटमा पनि धेरै मोल तिर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकले आजका लागि प्रतिअमेरिकी डलरको खरिद दर रु एक सय र विक्रीदर रु एक सय ६० पैसा निर्धारण गरेको थियो । तीन महिना अघिसम्म प्रति अमेरिकी डलर रु ८६ मा कारोबार भएको थियो ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat